अध्यादेशमार्फत कानुन संशोधनपछि निजी क्षेत्र उत्साहित छ: उपप्रधानमन्त्री पौडेल
विराटनगर | माघ १२, २०८१
विराटनगर: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो(२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो ।
मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो ।
उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अङ्कमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताउनुभयो ।
“मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ ।”
उहाँले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताउनुभयो । त्यस अवसरमा उहाँले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिनुभयो ।
“विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रले इमान्दारीपूर्वक राज्यको काममा सहयोग गरिरहेको उल्लेख गर्दै एक्स्पोले निजी क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पो सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । एक्स्पो यही माघ २० गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

